तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

२१ मंसिर ७६, शनिबार
Share this
739shares

२१ मंसिर, रसुवा।

Advertisement

यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको सङ्ख्या दैनिक २०० को हाराहारीमा पुगेको छ ।

Advertisement

नेपाल चीनको सिमाना रसुवागढीदेखि करिब चार किलोेमिटर दक्षिणमा पर्ने टिमुरे तातोपानीमा बास बस्ने पाटीको सुविधाले छिमेकी जिल्ला नुवाकोटसमेतका मानिस नुहाउन पुग्ने गरेको वडाध्यक्ष तामाङले बताए। खोला बगरको तातोपानीलाई व्यवस्थापन गर्दै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले पूरै टायल बिछ्याइदिएको छ । पर्खालसहितको दुईवटा पक्की पोखरी र शौचालयसमेतका दुईवटा कोठा भएको पाटी निर्माण गरी दिएका कारण नुहाउन र बस्न सहज भएको स्थानीय समाजसेवी सुनावाङ्दी तामाङले जानकारी दिए।

दुई÷चार दिन नियमित नुहाउँदा दम, गानुगोला, पिनास, छालालगायत विविध प्रकारका रोग न्यूनीकरण गर्ने औषधिजन्य तातोपानी व्यवस्थापन गर्न रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैह्रेको योगदान रहेको टिमुरेका बासिन्दाले बताएका छन् । टिमुरेका बासिन्दाले नियमित तातोपानी नुहाउन थालिसकेको र लाङटाङ थुमन, बृद्विम, स्याफ्रुका बासिन्दाले भने पाटीमा बसेर हप्तादिन नुहाउने गरेको बताइएको छ ।

Advertisement

रसुवागढी क्षेत्रमा सवारीसाधन चलाउने चालक र विद्युत् आयोजनामा काम गर्ने सयौँ मजदूर एवं टिमुरे क्षेत्रको सरकारी निकायमा कार्यरत राष्ट्रसेवकले समेत तातोपानीको अधिकतम फाइदा लिइरहेका स्थानीय कामीनुर्पु तामाङले जानकारी दिए। यस्तै आमाछादिङ्मो गाउँपालिकाअन्तर्गत वडा नं ५ मा रहेको चिलिमे तातोपानीमा पनि नुहाउने मानिसको भीड लाग्दै गएको छ । चिलिमे गाउँबाट करिब तीन किमि उत्तर पश्चिम साङ्जेन खोलाको तटीय क्षेत्रमा रहेको उक्त तातोपानी नुहाउन एउटा पोखरी निर्माण भए पनि जङ्गलको ठाउँमा पाटी नहुँदा तातोपानी नुहाउन जानेका लागि बासको समस्या देखिएको धैबुङ बेल्चौरका शङ्कर पौडेलले बताए।

एकातर्फ भूकम्पपछिको नयाँ तातोपानी अर्काेतर्फ भिरको फेद पहराको ढुङ्गा लड्छकी भन्ने डर त्रिपाल बोकेर लानुपर्ने बाध्यता, थोरै मान्छे जाँदा रातको समयमा वन्यजन्तुसमेतको त्रास हुने गरेको त्यहाँ नुहाइ फर्कनुभएका पौडेलले जानकारी दिए। चिलिमेको गाउँमाथि पहाडको मध्ये भागमा रहेको उक्त तातोपानी विसं २०७२ को भूकम्पले हल्लाउँदा साविक स्थानमा सुकेर खोलाको तटीय क्षेत्रमा नयाँ मूल निस्केपछि संरक्षणको अभियान सञ्चालन गरिएको साम्वालिङ युवा क्लब चिलिमेले जनाएको छ । संरक्षण कार्यअन्तर्गत पहिलो चरणमा नुहाउने पोखरी निर्माण भएको र दोस्रो चरणमा बस्ने पाटी निर्माणका लागि आर्थिक स्रोत खोज्ने काम अगाडि बढिसकेको उक्त क्लबले जनाएको छ ।

यसैगरी स्याफ्रुबेँसी क्षेत्रमा रहेको तातोपानी भने सामान्यरूपमा सानु आकारको रहेको छ । भोटेकोशी नदीको छेउमा तातोपानी रहेका कारण स्थानीयवासीलाई थोर बहुत बिहान नुहाउन सहज भएको स्थानीयले बताएका छन् । यस्तै ठूलोभार्खु पुछार भोटेकोशी तिरमा रहेको तातोपानी भने बगरको बालुवाले पुरिएको छ ।

भोटेकोशीले आफ्नो निकासको धार परिवर्तन गर्दा कुनातर्फ बगेको नदी र विगतमा मैलुङ स्याफ्रुबेसी राजमार्ग निर्माण हुँदा भिरबाट खसेका ढुङ्गाको अवरोधका कारण औषधिजन्य प्राकृतिक तातोपानी पुरिएको ठूलोभार्खुका बासिन्दाले बताएका छन् । ठूलोभार्खु पुछार भोटेकोशी नदी किनारमा पुरिएको तातोपानी रसुवा जिल्लामा भएका तातोपानीका स्रोतमध्ये सबैभन्दा राम्रो र बढी प्रभावकारी भएका कारण उत्खनन गरी संरक्षण गर्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।

-ज्ञानेन्द्र न्यौपाने/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top