१४ पुस, विराटनगर ।
मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका ४ का ५४ वर्षीय सोमबहादुर रोक्काको सोमबार बिहान चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । रोक्काको शव उर्लाबारी १ स्थित बक्राहा खोलाको बगरमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तव्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यही मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । भतिजो विनोद रोक्काले पारिवारिक सम्बन्ध बिग्रिएपछि सोमबहादुर तीन वर्षदेखि एक्लै उर्लाबारीमा बस्दै आएको जानकारी प्रहरीलाई गराएको राईले बताए ।
उनका छोरा, श्रीमतीलगायत परिवारका सदस्य भने काठमाडौंमा बस्दै आएका छन्। उनकाअनुसार परिवारका सदस्यले छोडेपछि घरमा नबस्ने र मदिरा सेवन गरेर डुली हिंड्ने गरेको पाइएको छ । शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ ।
प्रहरीकाअनुसार यस वर्ष चिसोका कारण मोरङमा मानवीय क्षति भएको यो नै पहिलो घटना हो । लगभग दुई सातादेखि दिनदेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट गरिब, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिका र विद्यार्थी बढी प्रभावित बनेका छन् । विराटनगरको न्यूनतम तापक्रम सोमबार ५।६ डिग्री मापन गरिएको छ ।