१९ पुस, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कोे केन्द्रीय कमिटीको भागबन्डा टुंगिएको छ । लामो अन्यौलता अन्त्य गर्दै अनेरास्ववियूले एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने उल्लेख छ ।
तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए । शुक्रबार केन्द्रीय समिति विस्तार भएसँगै नेकपाको शक्तिशाली भातृ संगठन मानिने अनेरास्ववियूले पूर्णता पाएको छ ।




