कृषि विकास बैंकको करिव पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य पक्राउ

कृषि विकास बैंकको करिव पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य पक्राउ

२० पौष, काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर करिव पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंमा पक्राउ परेका छन् ।

मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो । महाशाखाका अनुसार उनलाई काठमाडौंबाटै समातिएको हो ।

उनी कृषि विकास बैंकको गोल्फुटार शाखामा पैसा झिक्न गएका थिए । उनले ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको थापाले बताए । आफ्नो खातामा गएको रकम झिक्न नेपालले पटक(पटक प्रयास गरिरहेका थिए ।

सोही क्रममा गोल्फुटार पुगेको सूचना बैंकबाटै आएपछि प्रहरीले नेपाललाई पक्राउ गरेको हो । नेपाल सिस्टम ह्याक गर्ने समूहका एजेन्ट रहेको खुलेको छ।

यसअघि उनीजस्तै १८ जना एजेन्टहरू पक्राउ परेका थिए । गत असोज ५ गते सिरहा शाखाको उक्त पैसा सिस्टम ह्याक गरेर बैंकको केन्द्रीय कार्यालय पुर्‍याइएको थियो । पछि उक्त रकम बैंकबाट विभिन्न व्यक्तिले निकालेका थिए ।

यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ । मुम्बईमा बसेर उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम विभिन्न व्यक्तिको खातामा पुर्‍याएर निकालेको प्रहरीको भनाइ छ ।

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिकेको प्रकणमा ३६ जना प्रतिवादी छन् । पक्राउ परेका नेपाललाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.