२१ पुस, विराटनगर ।
गएको पुस १ गतेदेखि विराटनगरमा जारी विराट जुत्ता चप्पल मेला करिब अन्तिम चरणमा पुगेको छ । स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरको आयोजनामा विराटनगरको जैन भवनमा सञ्चालन भईरहेको जुत्ता चप्पल मेला पुस २९ गतेसम्म चल्ने छ ।
सुरु भएदेखि हालसम्म पनि जुत्ता चप्पल किन्न आउने ग्राहकको भीड उत्साहजनक रहेको आयोजकले जनाएको छ । मेलामा दैनिक आठ हजारसम्म ग्राहक आउने र मेलाबाट दैनिक ८ देखि १२ लाख सम्मको कारोबार हुने विराट जुत्ता चप्पल मेलाका बजार प्रमुख तथा बीएफ डियर हिल शुजका प्रवन्धक गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले वास्तविक कारोवारको तथ्यांक मेला समापनको बेला थाहा हुने भएपनि जुन कारोबारको लक्ष्यका साथ मेला सञ्चालन गरिएको थियो त्यसको नजिक पुगेको बताए ।
५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ । गएका दुई वर्ष सञ्चालनमा आएको मेलामा पहिलेको विश्वासले पनि अहिले ग्राहकहरु थपिएका छन् । फिक्स प्राईज, सस्तो, टिकाउ र खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट भएपछि ग्राहकको ओईरो लागेको छ ।
‘स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका सञ्चालन भएको जुत्ता मेलाका प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गरेका थिए । ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा राखिएको मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ता राखिएको छ । मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु राखिएको छ ।