२ माघ, काठमाडौँ ।
सांसदहरुले स्वायत्त, स्वतन्त्र र स्वनियम सहितको मिडिया काउन्सिल विधेयक हुनुपर्ने बताएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा सच्याई स्वायत्व, स्वतन्त्र र स्वनियम सहितको व्यवस्था राख्नुपर्ने बताएका हुन् ।
सरकारले संसदमा पेस गरेको विधेयकको प्रस्तावनामा स्वस्थ, स्वतन्त्र, मार्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्ने भन्ने उल्लेख छ । सांसद वृषेश चन्द्र लालले पत्रकारिता पेशामा उच्चतम आचरण कायम गर्दै स्वस्थ स्वच्छ र स्वतन्त्र पत्रकारिताको विकास संरक्षण तथा पत्रकारितामा आचारसंहिता आफैले बनाउने र त्यस अन्तर्गत रहने र त्यसलाई संवर्धन गर्नका लागि स्वतन्त्र स्वायत्त नियामक निकायको रुपमा प्रेस काउन्सिल हुनुपर्ने बताए ।
सांसद रामनारायण विडारीले पत्रकारितामा आफैले आफैलाई नियमन गर्ने प्रवृतिको कुरा हुनुपर्ने त्यसका लागि स्वायत्त, स्वतन्त्र नियमन गर्ने संस्थाको रुपमा विकास गर्नका लागि विधेयकमा राखिएको भाषालाई सच्याउनुपर्ने बताए ।
सांसद राधेश्याम अधिकारीले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल नै राख्नुपर्ने भन्ने चित्त बुझ्दो उत्तर आउनुपर्ने बताए ।उनले विधेयकमा आउने विषय जस्ताको तस्तै हुने तर नाम फेर्ने कुरा गतिलो नभएको समेत बताए । उनले नाममा मात्र बहस गर्नुभन्दा पनि यस भित्रका विषयहरुमा बढी बहस गर्नुपर्ने बताए । बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले रेडियो, टेलिभिजन, अनलाइन तथा छापा माध्यम सबैलाई एकै प्रकृतिको नियमन लागू हुन नहुने बताए । उनले फरक फरक प्रकृतिको माध्यम भएकाले सोहि अनुसार नै नियमनको आवश्यकता हुने बताए ।