३ माघ, एजेन्सी । यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । जसमध्ये तीन जना नेपालीको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यूएईको एमबीएम कम्पनीमा सरसफाई सम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीसंग ठोक्किएर दुर्घटना हुँदा तीन जना नेपाली महिलासहित ६ जनाको ज्यान गएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।
दुर्घटना गम्भीर भएकाले शव पहिचान गर्न ढिलाइ भएको हो । काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ ।
घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै घाइते पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फकिएका छन् ।
त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत छन् । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।
बिहीबार बिहान साढे ५ मा भएको दुर्घटनाबारे दूतावासले जानकारी पाए लगत्तै घटनास्थल र घाइतेहरुको अवस्था बुझ्न दूतावासका उच्च अधिकारीको टोली अस्पताल पुगेको थियो ।
कम्पनीले दुर्घटनाबारे अन्य कामदारलाई नआत्तिन र सामाजिक सञ्जालमा जथाभाबी नलेख्न अनुरोध गरेको छ । कम्पनीले स्थानीय प्रशासन, अस्पताल तथा सम्बन्धित कामदारका देशका यूएईमा रहेको दूतावाससँग समन्वय गरिरहेको जनाएको छ । कामदार गुमाउँदा कम्पनी पनि शोकमा डुबेको छ ।