४ माघ, काठमाडौँ ।
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश–५ ले शनिबार गरेको कार्यक्रममा पोखरेलले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेको बताए ।
राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हामी बलियो भइन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।
पोखरेलले भने, ‘अहिले पनि समाजमा राज्यको विद्रोहीका रुपमा समाजका सदस्यले आफूलाई हेर्ने गरेको पाइन्छ, तर संविधानले दिएका अधिकार प्रयोग गर्न सबल र सक्षम राज्य हुनुपर्दछ, नागरिकले गौरवबोध गर्न सक्दछन्, त्यस प्रकारको राज्य बनाउनु हामी सबैको अभिभारा हो ।’
पोखरेलले नेपाली समाजलाई लाहुरे संस्कृतिले गाँजेकाले स्वदेश मै गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने गरेको बताए । समृद्ध राष्ट्र निर्माणका लागि स्वदेशमा उद्यमशील बन्न उनको आग्रह थियो ।
समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने पोखरेलले बताए ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विपद्का बेला यूवा परिचालनमार्फत व्यवस्थापन गर्न तथा समृद्धिको प्रमुख आधार युवा जगत नै भएको बताए ।(रासस)