४ माघ, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्ने बताएका छन् ।
कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताए । नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाई छ ।
नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको मन्त्री भट्टराईको भनाई छ । अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागि गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए ।