५ माघ, काठमाडौं ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिजवापत यति हाल्डिङ्स प्रालिले दिए भन्दा ५० करोड बढी आफुले तिर्ने भन्दै भाडामा आफुलाई दिन सरकारसमक्ष प्रस्ताव गरेका छन् ।
राष्ट्रियसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनिले भन्दा आफुले ५० करोड रुपैया बढी दिने भन्दै आफुलाई भाडामा दिन सरकारलाई चुनौति दिएका हुन् ।
उनले सरकारका मन्त्री, सभाध्यक्ष र माननीयहरुलाई साझी राखेर आफुले सरकारलाई ५० करोड बढी दिने प्रस्ताव राखेका हुन् । उनले समय नसकिदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी पनि उनले गरेका छन् ।
उनले प्रधानमन्त्री केही गिरोहको घेराभित्रमात्रै रमाउने गरेको र उनीहरुकै रिपोटिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै गम्भीर आपत्ती जनाए ।
उनले प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि बालुवाटारबाट गर्ने गरेको भन्दै सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा ‘प्रधानमन्त्रीका बाल्यकालमा लगाएका बस्त्रहरु राख्ने हो ?’भनी प्रश्न गरे ।
उनले संविधानले गरेको व्यवस्था विपरित आएका विधेयकहरुलाई राष्ट्रियसभाले अस्वीकार गर्नुपर्ने धारणा राखे । उनले नेपाल विशेष सेवा सम्बन्धी विधेयकले नागरिकको व्यक्तिगत फोन ट्याब गर्न समेत पाउने गरि ल्याईएको विधेयक स्वीकार गर्न नसकिने बताए ।
राष्ट्रियसभा सदस्य राजकुमार कुँवरले १० बर्षे शसस्त्र द्धन्द्ध पछि त्यसकै आडमा सरकारमा पुगेकाहरुले तात्कालिन द्धन्द्धमा योगदान दिएका घाईते योद्धालाई वेवास्ता गर्ने काम भएको गुनासो गरे ।
सरकारमा पुगे पछि काम नलाग्ने जनयुद्ध भन्न थालिएको भन्दै वास्तवमा कम्युनिष्टको सरकार हो भने वेपत्ता नागरिकको स्थिति सार्वजनिक गरि घाईते अपाङ्गको उपचार र उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।राष्ट्रियसभा सदस्य कोमल ओलीले मिलेनीयम च्यालेन्ज कर्पोरेशनकाबारेमा दलहरुबाटै स्पष्ट विरोध नआएको र यसबारे भ्रम फैलाउने काम भएको भन्दै यस तर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराइन् ।