५ माघ, विराटनगर ।
प्रदेश १ मा चार राज्यमन्त्री थपिएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई आईतबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।
प्रदेश १ मा सात मन्त्रालय भएपनि प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।
