६ माघ, विराटनगर।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मोक्तान र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा पोमु लिम्बु पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको भन्दै उनीहरुलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनीहरुले आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूतिहुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनियकार्य गरेकोले प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिने गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
गत मंसिर महिनामा इलाका प्रहरी कार्यालय दिङला भोजपुरमा कार्यरत महिला प्रहरी जवान सविना खत्रीलाई पुरस्कृत गरिएको थियो ।