१६ माघ, काँकडभिट्टा । भारत पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार अपराह्न भएको सवारी दुर्घटनामा दुई नेपालीको ज्यान गएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
झापा बुद्धशान्ति ३ कि करिब ५० वर्षीया भूमा ढकाल र अन्दाजी ४५ वर्षका दिपज्योति ढकालको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय पत्रकार अतित थापाले जानकारी दिए ।
भारत–भुटानको सीमा सहर जयगाउँमा बिहीबार हुन लागेको आफन्तको बिहेमा हिँडेका १८ नेपाली यात्रु डव्ल्यू वी ७६–९१९४ को गाडीमा सवार थिए । विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कार दुर्घटना भइ नेपाली यात्रु सवार गाडीमा ठक्कर खाएको थियो । ठक्करपछि नेपाली यात्रु सवार गाडी पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएकी झापा सुरुंगाकी मिरा भेटवालका अनुसार विपरीत दिशावाट आएको गाडी पल्टिँदै नेपाली यात्रु सवार गाडीमा ठोक्किएको थियो । नगरकट्टा प्रहरीका अनुसार घटनामा बालबालिका र अन्य यात्रीहरु बढी घाइते रहेकाले सुल्कापाडा र मालबजारमा उपचार भइरहेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार बिहेको निम्तो मान्न आफन्तहरु बुधबार भारततिर हिँडेका थिए । भारतबाट मृतकको शव ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।