१६ माघ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने, व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले जानकारी दिए।
सो अवसरमा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सहकार्यका लागि जोड दिएका थिए ।
विदेशमन्त्री एसलवर्नले साझा हितका आपसी विषयमा सहकार्यका तयार रहेको बताएको सहसचिव काफ्लेले जानकारी दिए । विदेशमन्त्री एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका हुन् । भ्रमण सम्पन्न गरी उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।रासस