सरकार सही गतिमा छ : मन्त्री भट्टराई

सरकार सही गतिमा छ : मन्त्री भट्टराई

२० माघ, दमौली । 

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार सही बाटोमा रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँले सोमबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा नरहेको जिकिर गरे ।

मन्त्री भट्टराईले सरकारको बाटो, दिशा र गन्तव्य सही रहेको बताउँदै भने–‘सरकारको बाटो सही हुँदा–हुँदै पनि कहिले–काहीँ अप्ठ्यारा बाटो आउँछ, अवरोध आइपर्छ, त्यस्ता अवरोध हटाउँदै अगाडि बढ्नुपर्छ ।’

मन्त्री भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कुशल र अनुभवी पाइलटको संज्ञा दिँदै उनको नेतृत्वको वर्तमान सरकारको जहाजले सही अवतरण गर्ने पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले नेकपाको आकाश सफा र धर्ती उर्वर रहेको बताए ।

पार्टी एकीकरणलाई भावनात्मक बनाउन हालै सम्पन्न केन्द्रीय कमिटी बैठक सफल भएको भन्दै उनले बैठकले पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउन सफल भएको चर्चा गरे ।

‘बैठकअगाडि नेकपाको आकाशमा केही बादलहरु थिए, हावाहुरी पनि चलेको थियो’–मन्त्री भट्टराईले भने–‘बैठकले ती बादलहरु सफा गरिदिएको छ । नेकपाभित्र अब हावाहुरी चल्नेवाला छैन । नेकपाको आकाश सफा छ, धर्ती उर्वर छ ।’

केन्द्रीय कमिटी बैठकले तीनमहिने अभियान घोषणा गरेको जानकारी गराउँदै उनले उक्त अभियानमा सबै नेताहरु गाउँ फर्कने र कार्यकर्ताको समस्या सुन्ने बताए ।

सो अभियानमार्फत् पार्टीभित्रका समस्या समाधान गरिने मन्त्री भट्टराईले बताए । वि.सं. २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन घोषणा गरिएको र त्यसले पार्टीलाई थप मजबुद बनाउने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले पार्टीको महाधिवेशनलगत्तै तीन तहका निर्वाचन हुने भएकाले तीनओटै तहका चुनावमा अहिलेकोभन्दा पनि राम्रो परिणाम निकाल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिँदै बहुमतप्राप्त सरकार भएकाले जनताको अपेक्षा धेरै रहेको र त्यसलाई पूरा गर्न सरकार लागिपरेको बताए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.