२७ माघ, विराटनगर ।
एक नम्बर प्रदेश अन्तर्गत आइतबार विभिन्न छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिव ३४ लाख भन्दा बढीको क्षति भएको छ । इलामको सूर्याेदय नगरपालिका–२ मा बस्ने शसी क्षेत्रीको घरमा आइतवार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको छ ।
बेलुका करिब ८ बजेको समयमा क्षेत्रीको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट क्षेत्रीको घरमा रहेको सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान काठपात, अन्नपात, लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।
आगलागी इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
त्यसैगरी संखुवासभाको पाचँखपन नगरपालिका–७ बाहुनगाउँ बस्ने पदमनाथ कुईकेलको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी ७ लाख मुल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट कुईकेलको टिनको बेरा भएको ३ तले घर, घर भित्र रहेको नगद, चाँदी, लत्ताकपडा, अन्नपात लगायत घर भित्र रहेका सम्पूर्ण सामान र कुईकेलको भतिजा कमल कुईकेलको ग्वाली घरमा समेत आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।