१३ फागुन, काठमाडौं ।
गोकर्ण रिसोर्टको लिज सम्झौताको प्रकरणसहित नेपाल ट्रष्टको देशभरि भएको सम्पत्ति विवरणबारे आज उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले श्वेतपत्र सार्वजनिक गर्ने भएका छन्।
नेपाल ट्रष्टको अध्यक्षसमेत रहेका पोखरेलले आज दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरणबारे जानकारी दिन लागेका हुन्।
प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रष्टमाथि प्रश्न उठ्दै आएको छ।
मन्त्री पोखरेलले सार्वजनिक गर्न लागेको श्वेतपत्रमा गोकर्ण रिसोर्ट र दरबारमार्ग र ताहाचलको लिज भाडा प्रकरणबारे छुट्टाछुट्टै च्याप्टर समावेश गरिएको छ। सरकारले गोकर्ण रिसोर्टको लिज नवीकरण गर्दा एक अर्ब सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कमाइ हुने दाबी गर्दै आएको छ।
मन्त्रिपरिषद् बैठकले यति प्रकरणमा श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै श्वेतपत्रमा मातातिर्थ र थानकोटको मोहीको जग्गा व्यक्तिको नाममा पुर्याइएको विषयमा समेत उल्लेख हुने जनाइएको छ ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र ट्रष्ट अध्यक्ष विजय गच्छदार भएका बेला २०६९ कात्तिक २ गते मन्त्रिपरिषद्को समितिको निर्णयअनुसार थानकोट, मातातिर्थ, सतुंगल र बालाजुको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टको जग्गा मोही तथा हकवालाको नाममा नामसारी भएको थियो।