७ चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम ज्वरो जाँच गरिएको छ । बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडी नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरेको हो । अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन लागेको थियो ।