९ चैत्र, काठमाडौँ ।
सरकारले भारतीय सीमाबाट भित्रिएका सबै नेपाली नागरिकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
त्यस्ता नागरिकको निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबार निर्देशन दिइएको हो । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार आइतबार देशभरका प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिपत्र गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि त्यस्तो निर्देशन दिइएको छ।
गृहको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउने व्यवस्था गर्न निर्देशन दिइएकोअधिकारीले बताए।
सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे–नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले आइतबार निर्देशन दिएको छ।