१० चैत,काठमाडौं ।
अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने सरकारले तयारी गरेको छ । कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी गरिएको छ ।
यसअघि सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपनि कर्मचारीहरु कार्यालयमा हाजिर हुनुपर्ने थियो । यसो हुदा कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक छलफल गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ ।
सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा हुने छैन मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णय हुनेपनि जनाईएको छ । प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्दैछ ।
यसैबीच सरकारले ढिलोमा शनिबारसम्म स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका साधनसहित आवश्यक मेडिकल सामाग्रीहरु हवाइजहाज चार्टर गरेर खरिद गरेर ल्याउने भएको छ ।