११ चैत, एजेन्सी । नयाँ कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबेई प्रान्तको राजधानी वुहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले वुहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो ।

तर वुहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ ।
प्रान्तीय कोविड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा वुहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरु र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ ।

हुबेई प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुबेईमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबईे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेईमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् ।

गत जनवरी २३ मा वुहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै वुहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुबेई प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो ।

विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको वुहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुबे प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो । (रासस)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top