१६ चैत, बुटवल । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
थापा चैत ६ गते दुबईबाट फर्किएका थिए । उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको थियो ।
घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।
थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन । उनलाई अरू केही रोग भएको पनि नदेखिएको र अस्पताल आउनासाथ कोरोनाको संक्रमण जाँचका लागि स्वाब निकालेर काठमाडौं पठाइएको थियो । तर रिपोर्ट नआएकाले सोमबारसम्म आउने अस्पतालले जनाएको छ ।