२० चैत, काठमाडौँ ।
लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ । सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा पर्दै गएको हो ।
पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराल लगायतको मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेका हुन् । लकडाउन थपिएसंगै दाना, भुसा, पराल लगायत आपुर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन् । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल समेत पाईन छाडेपछि किसान को आक्रोश बढ्दै गएको छ । उनीहरु गाईनै फुकाएर छोड्ने स्थितिमा पुगेका छन् । लकडाउनले दाना पराल ल्याउन नपाएपछि गाईपालकको अगाडि गाईलाई बचाईराख्ने र उत्पादित दुधको व्यवस्थापन मुख्य समस्याको विषय बनेका छन् । खानाको कमिले गाईको स्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै दुध उत्पादनमा पनि कमि आएको छ भने उत्पादित दुधको व्यवस्थापन पनि हुन सकेको छैन ।
गाईपालक किसान ताराबहादुर भण्डारीको गाई फाममा अहिले २० वटा गाई छन् । दाना अभावमा गाईको खानाको मात्रा घटाउँदा दुध उत्पादनमा पनि कमि आएको छ । निलबाराही मिश्रित कृषक समूहमा ८० जना व्यवसायिक गाईपालक कृषक आवद्ध छन् । उनीहरुको फार्ममा झण्डै ३ हजार गाई छन् । अन्य व्यवसाय जस्तो सटर बन्द गरेर हिड्न मिल्ने व्यवसाय नभएकाले गाईलाई बचाई राख्नुको साथै गाईपालक कृषकको लगानी डुब्न नदिन सरकारले दाना र दुधको व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्नेमा उनले जोड दिए ।