२९ चैत्र, वीरगञ्ज
वीरगञ्जबाट स्वाब संकलन गरी परीक्षणका लागि हेटौँडा पठाइएको तीनजनाको स्वाब थप परीक्षणको लागि काठमाडौं पठाइएको छ।
वीरगञ्जमा आएर बसिरहेका तीनजनाको नारायणी अस्पतालमा स्वाब संकलन गरी हेटौँडा पठाइएकोमा उनीहरुमा कोरोना संक्रमण भए–नभएको यकिन गर्न काठमाडौं पठाइएको हो।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा बसिरहेका २४ जनाको समूहको बारेमा स्थानीयको खबर पश्चात उनीहरुलाई नारायणी अस्पतालमा ल्याइएको थियो। त्यहाँ तीनजनाको स्वाब संकलन गरी परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको थियो।
उनीहरु तीनैजनाको परीक्षण गर्दा हेटौँडामा कोभिड १९ संक्रमण शंकास्पद पाइएको थियो। उनीहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको यकिन गर्नको लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।
हेटौंडामा भएको कोरोना भाइरस संक्रमणको परीक्षणमा शंकास्पद देखिएका तीनैजनालाई अस्पतालमा रहेको आईसोलेसनमा राखिएको नारायणी अस्पतालले जनाएको छ।
यता, वीरगञ्जबाट आएको स्वाब परीक्षणको क्रममा नेगेटिभ वा पोजेटिभ किटान हुन नसकेपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।