२९ चैत, काठमाडौँ ।
नेपाली अभिनेत्री शिल्पा पोखरेलले चलचित्र ‘जय शम्भु’ भोजपुरी सिनेमामा डेब्यु गरेकी छिन् ।सोनु खत्रीको निर्माण र निर्देशन रहेको फिल्मबाट शिल्पाले भोजपुरीमा डेब्यू गरेकी हुन् । फिल्म ‘जय शम्भु’ मा अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु) सँग रोमान्स गरेकी छन् ।
शनिवार सार्वजनिक भएको फिल्मको एक्सन प्याक्ड टिजरमा उनलाई पनि स्थान दिइएको छ । यो फिल्मको अधिकांश छायांकन नेपालमा भएको हो ।
उनले आफ्नो डेब्यू भोजपुरी फिल्मलाई लिएर उत्साहित रहेको फेसबुकमा टिजर साझेदार गर्दै बताएकी छन् । यस वर्षको साउनमा आफूविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्धा चलिरहेको समयमा शिल्पाले यो फिल्मको छायांकन गरिरहेकी थिइन् ।
यस फिल्ममा ध्रव कोइराला, कालु रानालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई नेपाली छायाँकार हरि लामाले खिचेका हुन् । त्यस्तै, ‘जय शम्भु’ मा नेपाली फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठको एक्सन, समिर मियाको भिएफएक्स, ओम सुनारको ब्याकग्राउण्ड र रमेश बोगटीको कथा छ । टिजर सार्वजनिक भए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।