३० चैत, काठमाडौं । आइतबार लकडाउन घोषणा भएको २० अकौं दिन पनि जारी रहेको छ । चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लकडाउन आइतबार पनि जारी रहेको हो ।
लकडाउनका कारण राजधानीका सडक सुनसान छन् । विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । आइतबार पनि विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् ।
प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ । नेपालमो कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रो पटक गरेको घोषणा गरी लक डाउन वैशाख ३ गतेसम्म जारी राख्ने बताएको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।
बैशाख ३ गतेपछि पनि लक डाउन लम्बिन सक्ने संकेत सरकारले गरेको छ । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनलाई निरन्तरता दिने र सीमा नाकामा कडाई गरिने बताएका थिए ।
यता प्रदेश–१ को राजधानी विराटनगरसहित पूर्वका सबैजसो क्षेत्र सुनसान भएका छन् । केही दिनयता लकडाउनलाई प्रहरीले कडाइ गरिरहेको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले सडकमै उभ्याएर कारबाही गरिरहेको छ ।
विराटनगरमा लकडाउनलाई कडाइ गरेसँगै सडकसमेत सुनसान भएको छ । लक डाउनमा अटेर गरी घर बाहिर निस्कने ३ सय २७ जना सुनसरीबाट पक्राउ परेका छन् । सुनसरी प्रहरीले लकडाउनमा कडाई थालेसँगै घर बाहिर निस्कनेहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले सदरमुकाम इनरुवाबाट १८ जनालाई पक्राउ गरेको छ । अन्यलाई जिल्लाका विभिन्न बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मनिङ वाक निस्कने देखि बजार घुम्न हिंडेका र सागसब्जी तथा औषधी खरीद गर्न भन्दै बजार निस्केकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अत्यावश्क अवस्थामा मात्रै घर बाहिर निस्कन भनेपनि वहानाबाजी गर्ने क्रम बढेकाले चेकजाँच सँगै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन थालिएको जनाएको छ ।
पक्राउ गरिएकाहरुलाई मातहतका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई साँझ मात्र छाड्ने गरेको छ । प्रहरीले ७१ वटा सवारीका साधन समेत सुनसरीबाट नियन्त्रणमा लिएको छ ।