१ वैशाख, एजेन्सी । चीनमा पछिल्लो एक महिनामा पहिलो पटक आइतबार कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक सयभन्दा बढी नाघेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार आइतबार थप एक सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार संक्रमितमध्ये ९८ जना विदेशबाट आएकाहरु हुन् । १० वटा केस भने स्थानीय संक्रमण नै भएको आयोगले जानकारी दिएको छ । १० मध्ये सात जना हेइलोङजियाङ प्रान्त र ३ जना गुवाङदोङ प्रान्तका रहेका छन् ।
कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा पछिल्लो महिनायता संक्रमण नियन्त्रणउन्मुख भएको बताइएको थियो । संक्रमण लगभग नियन्त्रण भएको भन्दै चीनले इपिसेन्टर वुहानबाट समेत लकडाउन हटाएको थियो । स्थानीय संक्रमण घट्दै गए पनि विदेशबाट आएकाहरुबाट दोस्रो चरणको संक्रमण फैलिने हो कि भनेर चिन्ता बढ्न थालेको छ ।
सोमबार बिहानसम्म चीनमा कोरोना संक्रमणबाट ३ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ । त्यस्तै ८३ हजार एक सय ३५ जनामा संक्रमण देखिँदा करिब ८० हजार भने निको भएका छन् ।
कोरोना भाइरसको संक्रमबाट सबैभन्दा बढी अमेरिकामा २२ हजार ७३ को मृत्यु भएको छ । सोमबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ५ लाख ५६ हजारभन्दा बढी पुगेको छ भने करिब ४३ हजार निको भएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी इटालीमा १९ हजार ८ सय ९९ को मृत्यु भएको छ । सोमबार बिहानसम्म इटालीमा संक्रमितको संख्या एक लाख ५६ हजार ३ सय ६३ रहेको छ भने करिब ३४ हजार निको भएका छन् ।
त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार २ सय ९ रहेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या करिब एक लाख ६६ हजार रहेको छ। स्पेनमा कोरोना संक्रमणपछि निको हुनेको संख्या करिब ६२ हजार रहेको छ।
फ्रान्समा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ । सोमबार बिहानसम्म फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ४ सय १२ पुगेको छ। फ्रान्समा संक्रमितको संख्या एक लाख ३३ हजार रहेको छ भने करिब २७ हजार निको भएका छन्।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट इरानमा ४ हजार ४ सय ७४, बेल्जियममा ३ हजार ६ सय, जर्मनीमा ३ हजार २२, नेदरल्यान्ड्समा २ हजार ७ सय ४७, टर्कीमा एक हजार एक सय ९८, ब्राजिलमा एक हजार २ सय ३० र स्विजरल्यान्डमा एक हजार एक सय ६ जनाको मृत्यु भएको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्वलाई आक्रान्त बनाएको छ। यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार एक सय ८५ पुगेको छ। त्यस्तै करिब १८ लाख ४८ हजार संक्रमित हुँदा करिब ४ लाख ३१ हजार निको भएका छन्।
