१५ वैशाख, काठमाडौं ।
पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालमा प्रसारित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ ।
जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले सोमबार विहान साढे ६ बजे रेडियो नेपालमा प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)ले विज्ञप्ति निकालेर माफी मागेको हो ।
विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘‘पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ ।’
कार्कीले आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत भनेका छन् । कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ । डा. भट्टराईसँग समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले लिएको अन्तर्वार्ताका क्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर ‘भष्मासुर’, ‘अपहरणकारी’, ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेका थिए ।
