१२ कार्तिक,काठमाण्डौ ।
भारतमा आएको शक्तिशाली आँधी असर नेपालमा सुरु भएको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आजदेखि भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आज (बिहीबार) देखि उल्लेखनीय रूपमा पर्ने जनाएको छ।
मौसम महाशाखाका अनुसार अर्नबका कारण गएरातिदेखि देशभरको आकाशमा साधारणतया बादल लागे पनि वर्षा भएको छैन। सूचना जारी गरी महाशाखाले अगाडि भनेको छ, ‘बिहीबारदेखि यसको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।’

मौसम महाशाखाका अनुसार पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात अर्नब भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार बिहान सवा ८ बजेतिर जमिनमा प्रवेश गरेको हो। जसको प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन÷चट्याङ, असिनासहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ।
यसैगरी उक्त ३ दिन कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा÷हिमपातको सम्भावना छ।

जमिनमाथि प्रवेश गरेको ‘अर्नब’ उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर आज बिहान डीप डिफ्रेसनमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालको वायुमण्डलमा हिजोदेखि ‘अर्नब’को प्रभावले बादल देखिएको छ ।
आजदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ । आजदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने यसअघि नै विभागले बताइसकेको छ ।
धानबाली भित्र्याउनेलगायत कृषि कार्य शनिबारसम्म नगर्न महाशाखाले आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन भनेको छ ।
पर्यटकहरू उच्च हिमाली भूभागमा नजान, गएको भए पनि यस अवधिमा सुरक्षित ठाँउमा रहन विभागले आग्रह गरेको छ । यसबाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको छ ।
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमशः कमजोर हुँदै गएको छ । तर यसको आंशिक असरले नेपालमा आज कात्तिक १२ गतेदेखि १४ गते शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान गरिएको छ । सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ ।
आज यो थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत हुने सम्भावना छ । गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण आजैदेखि नेपालको वायुमण्डलमा माथिल्लो तहका बादल देखिन थालेका छन् । भोलि यसको प्रभाव थप बढ्ने अनुमान छ ।
बरिष्ठ मौसमविद विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो । उनका अनुसार यसबाट उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने सम्भावना छ ।
सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै कात्तिक १४ गतेसम्म धानबाली सुरक्षित राख्न र पदयात्रा नगर्न महाशाखाले आग्रह गरेको छ । यस अवधिमा पर्यटकलाई उच्च हिमाली भूभागमा नजान र त्यस्ता क्षेत्रमा पुगिसकेको भए सुरक्षित स्थानमा रहन पनि उनले अनुरोध गरेकी छन् ।
महाशाखाकी मौसमविद बिनु महर्जनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने बताइन् । वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ । मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि महाशाखाबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।
‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन परिपत्र गरेको हो।
परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिनसक्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहीबार (कात्तिक १२) देखि शनिबार (कात्तिक १४) सम्म भारी वर्षा, तीव्र हावाहुरी र भिजिविलिटी कम हुनसक्ने भएकोले हवाई उडान तथा अवतरण, विमानस्थलको सञ्चालन र धावनमार्गको सतहमा समस्या उत्पन्न हुन सक्ने हुँदा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ।
त्यस्तै, भारी वर्षा वा प्रतिकूल मौसमका कारण विमानको उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दूरी कायम गर्न भनिएको छ । हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने विमानलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख छ ।
प्राधिकरणले वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न निर्देशन दिएको छ। विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, तीव्र हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्न भनिएको छ ।
कुनै उपकरण वा प्रणालीको सञ्चालनमा समस्या आएमा तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ। वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धन व्यवस्थापनसहित निर्धारित सुरक्षा प्रक्रियाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।
त्यसैगरी, सम्बन्धित सबै निकायलाई हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न तथा कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटनाबारे निर्धारित माध्यमबाट तत्काल जानकारी गराउन समेत निर्देशन दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले आजदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा अंगलाई पूर्वतयारीका साथ रहन भनिएको जानकारी दिएका छन् ।
बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नव’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकोे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै वर्षा, चट्याङ तथा हावाहुरीले पुर्याउन सक्ने असरप्रति उच्च सतर्क रहन पनि आग्रह गरेको छ।
अर्नव चक्रवातको प्रभावले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले पर्यटक, पदयात्री र पर्वतारोहणमा जानेहरूलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा जान रोक लगाइसकेको छ। यसअघि नै पदयात्रामा गएकाहरुलाई पनि मौसम प्रतिकूल रहने अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ ।



