रोल्पामा बम विष्फोट भएको ठाउँलाई सिल गरि सुरक्षा सतर्कता बढाइयो

रोल्पामा बम विष्फोट भएको ठाउँलाई सिल गरि सुरक्षा सतर्कता बढाइयो

१९ बैशाख, रोल्पा । त्रिवेणी गाउँपालिका ७ दुम्ला खोलामा बिहीबार साँझ भएको बम विष्फोटमा चार जना बालबालिकाको ज्यान गएपछि त्यस ठाउँलाई सिल गरिएको छ ।

एउटा बम विष्फोट भएको र अर्काे एउटा विष्फोट नभएकाले त्यो ठाउँमा अहिले इलाका प्रहरी कार्यालय होलेरी र सशस्त्र प्रहरीको तिला ब्यारेकबाट खटिएको सुरक्षाकर्मीको टोलीले सुरक्षा दिइरहेको त्रिवेणी गाउँपालिका २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।

बिहीबार साँझ ६ बजेतिर विष्फोट भएको घटनास्थलमा दहबनमा रहेको सेनाको टोलीले निरीक्षण गरी बम डिस्पोजका लागि अहिले दाङबाट डिस्पोजल टोली बोलाइएको छ । सशस्त्र द्वन्द्वको बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र सेनाबीच दोहोरो सङ्घर्ष भएको थियो । त्यो बम अहिले पनि खिया नलागेकाले सुरक्षित राखेको र अझै हुन सक्ने आशङ्का गरिएको छ ।

बालबालिकाहरुले जङ्गलमा बम भेट्टाएर घर आउने बाटोमा खेलाउँदा विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । दुई जनाको शव बाटो छेउमा भेटिएको थियो भने दुई जनाको खेतभन्दा तल भेटिएको थियो । घटनाबारे थप बुझ्न घटनास्थलमा गाउँपालिकाका सबै पदाधिकारीहरु पुगेका छन् भने आज प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी पनि जाने बताइएको छ ।

विस्फोटमा ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ७ का लालबहादुर केसीका ११ वर्षिया छोरी विमला केसी र पाँच वर्षीय छोरा विजय केसी छन् । यस्तै ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपाली रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.