२० वैशाख, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।शनिबार ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण डेढ घण्टा पछि सरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनेपछि ओली र प्रचण्ड अध्यक्ष छन् । मंसिर २०७५ को सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएपछि सचिवालय बैठक बस्दा ओली र प्रचण्डलाई एउटै लहरको कुर्सी राख्न थालिएको थियो । तर त्यसले निरन्तरता पाएन । बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले आफू कार्यकारी अध्यक्ष भनिएपनि भूमिका नदिएको गुनासो गरेका थिए ।
गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।