पक्राउ परेका चार चिनियाँ नागरिकलाई दश दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेका चार चिनियाँ नागरिकलाई दश दिन हिरासतमा राख्न अनुमति

२९ बैशाख, काठमाडौं । लकडाउनको अवधिमा निषेधित क्षेत्र उल्लंघन गरेर सिंहदरबार अगाडी नाराबाजी सहित नेपाल प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई कुटपिट गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए ।

कोभिड–१९ नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेका वेला ४७ जना चिनियाँ नागरिक जम्मा भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न खोजेको थियो । तर, उनीहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले चिनियाँ नागरिकलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धान थालिएको बताए । उनका अनुसार कुटपिटमा प्रत्यक्ष संलग्न बाहेक अन्य साधारण तारेखमा छुटेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.