बुवाको हत्या गरेर छोरी फरार

बुवाको हत्या गरेर छोरी फरार

६ जेष्ठ, इलाम ।
इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् ।

इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए ।

उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो ।

फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ । “गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भने ।

कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.