राहतका लागि खरिद गरिएको चामल सडेको भेटिएपछि गोदाम सिल

७ जेष्ठ, दाङ ।
सामुदायिक वनले दाङको लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको र खान नमिल्ने भएपछि चामल गोदाममा सिल गरिएको छ ।

गाउँमा बाँडिएको चामल खान नमिल्ने भएपछि राहत लिएकाहरुले पनि फिर्ता गरेका छन् । दाङको राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागि लगिएको चामल गुणस्तरहीन भएको पाइएपछि फिर्ता गरिएको हो ।

लमहीको आर.के. सप्लायर्सले बिक्री गरेको पहेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहीन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोत्तालाई राहत वितरण गर्नको लागि १ सय ६४ बोरा चामल लगेकोमा १ सय ३२ बोरा चामल कुहिएको फेला पारेपछि फिर्ता गर्न लमही ल्याइएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर ओलीले जानकारी दिए।

बिक्रेताले सेतो बोराको नमुना देखाएर बिक्री गर्दा सेतोसँगै पहेँलो बोराको चामल पनि मिसाएर दिएको उनले बताए । १ हजार १ सय २५ रुपैयाँ प्रतिबोरा मूल्य परेको कालो सडेको र धुलैधुलो देखिन्छ ।

अहिले त्यस सप्लायर्सको चन्दन जातको चामल राखिएको गोदाम सिल गरिएको र थप अनुसन्धानपछि सम्बन्धित निकायले कारबाही गर्ने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए । चामल फिर्ता गराउन आउने जाने दुवानी खर्च पनि क्षतिपूर्तिस्वरुप उपलब्ध गराउन सप्लायर्सको प्रोपाइटर सहमत भएका छन् ।

प्रोपाइटर आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफूहरुले नहेरेका कारण समस्या भएको बताएका छन् । अहिले त्यस सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको १ सय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको छ ।

वडा प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ तथा पत्रकारको रोहबरमा मुचुल्का उठाएर गोदाम सिल गरी अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । अहिले बन्द गरेर अनुसन्धान थालिको छ, दोषी भेटिए कारबाही हुन्छ’, उनले भने।

Scroll to Top