७ जेठ, काठमाडौँ ।
नेपालमा बुधबार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ जना पुरुष र ७ जना महिला संक्रमित थपिएका हुन् ।
बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बताए । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।
बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोसी अस्पतालमा उपचाररत उदयपुरमा रहेका ८ जना पुरुषहरु डिस्र्चाज भएका हुन् । उनीहरु २९ देखि ३३ औं दिनसम्म अस्पतालमा उपचररत रहेका थिए । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए । बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको उनले बताए ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ९ हजार ६ सय २२, प्रदेश नम्बर २ मा ६ हजार २ सय ३४ र बागमती प्रदेशमा १५ हजार ७ सय ३१ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा ९ हजार ७ सय ३९, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ र सुदूरपश्चिम प्र्रदेशमा १९ हजार ९४ वटा आरडिटी परीक्षण भएको उनले बताए ।
प्रदेश नम्बर ५ मा १४ हजार २ सय ६२ गरी देशभरी २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयले स्वइच्छाले पीसीआर परीक्षण गराउन चाहानेहरुका लागि अहिलेसम्म शूल्क निर्धारण नभएको जनाएको छ । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय अहिलेसम्म शूल्क निर्धारण नभएको प्रवक्ता डा. देवकोटो बताए । संक्रमितको संख्या बढिरहेका कारण पीसीआर परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरिएको उनले बताए ।