९ जेष्ठ, कैलाली । कैलालीको गौरिफन्टा नाका भएर एकै दिन सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय ८९ मानिस नेपाल भित्रिएका छन् ।
नेपाल भित्रिएका उनीहरूलाई र्यापिड टेस्ट गर्दै आआफ्नो घर पठाइएको छ । तीमध्ये १२ जनालाई कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
पछिल्लो तीन दिनमा ३ हजार ६ सय बढी मानिस भारतबाट भित्रिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।
मन्त्री सुवेदीले आज पनि ५ सय बढी मानिस गौरिफन्टा नाकामा भेला भइसकेको जनाए । त्यसरी नाकामा आएका मानिसहरूलाई स्थानीय तह र प्रदेश सरकारले समन्वय गरेर घर पुर्याउने काम गरिरहेको छ ।
यसरी भारतबाट आएकाहरूलाई सम्बन्धित गाउँपालिका र नगरपालिकाको क्वारेन्टिनमा राख्न भनिएको छ।
उनले भारतबाट अझैं ३० देखि ४० हजार नेपाली आउने अनुमान गरिएको बताए। तर अहिले प्रदेशको क्वारेन्टिन क्षमता १० हजार व्यक्तिलाई राख्ने छ । उनले प्रदेशले क्वारेन्टिन क्षमतालाई बढाएर २५ सय पुर्याउने गरी काम अघि बढेको बताए ।
यसरी दैनिक हजारौंको संख्या भित्रिने मानिसहरूलाई टेस्ट गर्न प्रदेशसँग आवश्यक किट पनि छैन । मन्त्री सुवेदीले र्यापिड टेस्ट किट पनि आजसम्मलाई मात्र पुग्ने रहेको र थप किट केन्द्रसँग मागिएको जनाए ।
प्रदेश आफैले पनि ३० हजार र्यापिड किट र २ हजार पिसिआर किट लगायत स्वास्थ्य सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ ।
मन्त्री सुवेदीले भारतबाट आउने गरेकाले प्रदेशमा थप जोखिम बढेको बताए। सरकारले स्पष्ट नीति अवलम्बन नगरेकाले यसमा काम गर्न गाह्रो भएको उनको भनाइ छ।