२२ जेठ, काठमाडौँ ।
संघीय संसद् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्म बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् ।
उनले २०७७ जेठ २२ गतेदेखि ०७७ चैत मसान्तसम्मको बैठक र भ्रमण बापत प्राप्त हुने भत्ता सरकारको राजस्व खातामा राख्न संसद् सचिवालयलाई पत्र लेखेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखालाई बिहीबार पत्र लेखेर राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने बताएका हुन् ।
मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेका बेला सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन यो निर्णय गरेको तिमिल्सिनाले जनाएका छन् ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ का अनुसार अध्यक्ष तिमिल्सिनाले प्रति महिना विशेष भत्तावापत १ हजार रुपैयाँ, संसद बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ (संसद् बैठक बसेको दिनको), भ्रमण भत्ता १ दिनको ३ हजार रुपैयाँ प्राप्त गर्छन् ।