५ असार, काठमाडौं । सत्तारूढ दल नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच शुक्रबार दिउँसो हुने भिडिओ कन्फ्रेन्समा नेकपाको विदेश विभागलाई भने जानकारी नै गराइएको छैन ।
देश र पार्टी कसरी सञ्चालन गर्ने भन्नेबारे हुन लागेको भिडियो कन्फ्रेन्सबारे नेकपाको विदेश विभागलाई कुनै जानकारी नदिइएको जनाइएको छ ।
नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल हुन्। शुक्रबार हुने भिडिओ कन्फ्रेन्स सिपिसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा हुन लागेको हो।
नेकपा स्कुल विभागका प्रमुख उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल हुन्। भिडिओ कन्फ्रेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री पोखरेलसहित करिब सय जना नेताहरू सहभागी हुनेछन् ।
प्रचण्ड र उपप्रधानमन्त्री पोखरेल पार्टी मुख्यालय धुम्बाराहीको हलबाट सहभागी हुँदैछन् । सिपिसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी हुने बताइएको छ ।