दीपक मनाङेले दिए विकास समितिबाट राजीनामा

दीपक मनाङेले दिए विकास समितिबाट राजीनामा

८ असार, पोखरा ।
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

समितिका सभापति दीपक कोइरालालाई आइतबार राजीनामा बुझाएको उनले बताए । क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले राजीनामा दिएको उनले बताए ।

‘पाएको अधिकार प्रयोग गर्न नसक्ने समितिमा बसेर कामै छैन,’ उनले भने, ‘केही पनि गर्न नसक्ने भएपछि राजीनामा दिए ।’ समितिको अध्यक्ष युवा नै भएको र काम गर्न खोजे पनि उनको मात्रै नचल्ने सांसद गुरुङको भनाइ छ ।

कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा बारम्बार कुरा उठाएको उनले बताए । ‘मुख्यमन्त्री, मन्त्री सबै त्यही बाटो ओहोरदोहोर गर्छन्, क्रसरले दोहन गरेको देख्दैनन्,’ उनले भने, ‘यसमा प्रदेश सरकार नै मिलेको छ । प्रहरीले पनि केही गर्न नसक्दो रहेछ ।’

संघीयताको मर्मविपरित् प्रदेशका मन्त्री माथिबाट चुनिएर आउँदा प्रदेश सांसदले मन्त्री चुन्ने आफ्नो अधिकार प्रयोग गर्न नपाएको उनको दाबी छ । ‘नेपालमा संघीयता आएकै छैन,’ उनले भने, ‘चाहिने, नचाहिने मान्छेलाई माथिबाटै मन्त्री र सांसद तोकेर पठाएको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.