१९ असार, एजेन्सी । म्यानमारको जेड पत्थरको खानीमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ । साथै दर्जनौं मानिसहरू वेपत्ता भएका छन् ।
निरन्तरको भारी वर्षापछि आएको पहिरोले बिहीबार विहान सो संख्यामा हताहती भएको सिएनएनले जनाएको छ ।
म्यानमारका सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखिएको समाचारमा घटना म्यानमारको उत्तरमा रहेको काचिन राज्यमा भएको हो ।
म्यानमारको अग्नि नियन्त्रण विभागले बिहीबार साँझसम्म १ सय ६२ वटा मृतकको शव फेला पारेको जनाइएको छ। घटनामा घाइते भएका ५४ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
घटनामा मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। उद्धारमा वर्षाले असर गरेपछि उद्धार स्थगीत गर्नुपरेको पनि सिएनएनले जनाएको छ।
म्यानमारका बहुमूल्य पत्थरका खानीहरूमा यस्ता घटना थुप्रैपटक घट्ने गरेको छ। जेड पत्थरका खानीहरूको उचित नियमन नहुँदा यस्ता घटना हुने गरेका छन्।
गत वर्षपनि यस्तै घटनामा ५० जनाले ज्यान गुमाएका थिए भने त्यसअघि सन् २०१५ मा भएको घटनामा १ सय १३ जनाको मृत्यु भएको थियो।