२६ असार, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदीमा पानीको बहाव बढेपछि बस्ती पसेको छ ।
लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।
सेती नदी बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ । क्षतिको विवरण संकलन गरिरहेको ८ नं. वडा का अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताएका छन् । स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाएको उनले बताए ।
सेती र सुरौंदी खोलाले थप क्षति पु¥याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष रेग्मीले बताए । नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।
