१ साउन, काठमाडौँ ।
साझा यातायातको बस सेवा बिहीबारदेखि पुनः सुरु भएको छ ।
२६ वटा बसमार्फत काठमाडौँका अधिकांश रुटमा साझाले बिहीबार बिहानदेखि सेवा सुरु गरेको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन सुरु गरिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षामा सर्तक हुने गरी बस सञ्चालन गर्न गरिएको उनले बताए । पाण्डेका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ ।
पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गरिएको साझाले जनाएको छ। पहिले थोरै बसबाट सुरु गरिएको भए पनि आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए । सरकारले तोकेअनुसार नै भाडा लिइने साझाले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मत लगायतका तयारीका काम गरिरहेको थियो । यातायात व्यवस्था विभागले औपचारिक रुपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै बिहीबारदेखि गाडी चल्न थालेको हो ।