गर्मीसँगै बिरामी पनि बढे

५ बैशाख ७५, बिहीबार

तुलसीपुर, दाङ, ६ वैशाख ः केहीदिनदेखि गर्मी बढेसँगै दाङका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको ती अस्पतालले जनाएको छ ।

तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको सो अस्पतालले जनाएको छ ।

उपचार गर्न आउनेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।

Advertisement

त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

त्यस अस्पतालमा पनि ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।

Advertisement

गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छालासम्बन्धी रोग देखापर्ने राप्ती उपक्षेत्रीय अस्पतालका रोग विशेषज्ञ डा प्रताप पोखरेलले बताए ।

तुलसी अस्पताल तुलसीपुरमा पनि उपचार गराउन आउने बालबालिकाको संख्या बढिरहेको सो अस्पतालले जनाएको छ ।

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा किशोर खत्रीले केहीदिनयता निमोनिया, झाडापखाला, श्वासप्रश्वासमा समस्या, कमलपित्त, भाइरल ज्वरोका बिरामी बालबालिका उपचारका लागि आउनेको संख्या वृद्धि भएको बताए। त्यसैगरी लमही अस्पतालमा पनि उपचारका लागि आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

गर्मी मौसममा पानी धेरै खानुपर्ने, बासी सडेगलेको, झिंगा भन्केको खाना नखान डाक्टरले सुझाव दिएका छन् ।

उनीहरुले जाडो समयभन्दा गर्मी मौसममा विभिन्न रोग चाँडो फैलने हुँदा आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रहसमेत गरेका छन् । केहीदिनदेखि दाङमा गर्मी बढ्दै गएको छ ।

जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार दाङमा बुधबार अधिकतम तापक्रम ३४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top