६ साउन, काठमाडौं । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ ।
हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराका घटनाहरु बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा घटनाहरु घटेको बताए ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताए । विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिलिलिटर पानी परेको छ ।
मनसुन सुरु भएयता प्रदेश नम्बर १,२, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ । विभागले कोशी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ । नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोरनदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक सरजुले बताउनुभयो ।
मंगलबार सुस्ता आसपास र तटिय क्षेत्रमा डुबानको जोखिम रहेको उनले बताए । आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५ बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ ।
विभागले बाढीको पूर्व सूचना समेत प्रदान गरिरहेको छ । मनसुन सुरुभए यता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएस मार्फत पूर्वसूचना दिइएको विभागले जनाएको छ ।