११ साउन, चितवन ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र घुँगी खोज्न जाँदा सेनाको कुटपिटबाट मारिएका राजकुमार प्रजाको परिवारलाई एक लाख रुपैयाँ राहत दिन सहमति भएको छ ।
सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय, चितवनमा भएको छलफलपछि उनको परिवारलाई एक लाख रुपैयाँ राहत दिन सहमति भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
त्यस्तै, बालबालिकाको भरणपोषणका लागि निकुञ्जले सहयोग गर्ने भएको छ । उनीहरूको घर पनि निकुञ्जले नै बनाउने सहमति भएको प्रजिअ भट्टराईले बताए । स्थानीय बासिन्दासँगै १ साउनमा घुँगी खोज्न गएका राजकुमारलाई निकुञ्जको लिगलिगे पोस्टको सैनिक टोलीले कुटपिट गरेको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको ८ साउनमा मृत्यु भएको थियो । कुटपिट गर्ने सैनिकलाई कारबाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका थिए । उनीहरूले शव बुझ्न पनि मानेका थिएनन् ।
सहमतिपछि आइतबार शवको पोस्टमार्टम गरिने भएको छ ।