१४ साउन, धरान । कोरोना भाइरसको संक्रमणबाट मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
कोसी अस्पतालका डा. दिपक सिग्देलले अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा श्वास फेर्न गाह्रो भएर उपचारका लागि ती पुरुष आएको बताए ।
ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।
केही दिनदेखि खोकी लाग्न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए । प्रवक्ता यादवले प्रतिष्ठानका डा. सन्दिप शर्मासँग समन्वय गरेरै ती व्यक्तिलाई थप उपचारका लागि पठाइएको दाबी गरे ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।