५ वर्षदेखि सीमा प्रशासन कार्यालय छाङ्गरुमा छैनन् कर्मचारी

१५ साउन ७७, शुक्रबार

१५ साउन, दार्चुला ।

व्यास गाउँपालिका–१ छाङ्गरुमा सीमा प्रशासन कार्यालयको बोर्ड टाँसिएको छ । यो कार्यालयमा २०७२ सालयता छाङ्गरुमा सीमा प्रशासनका कर्मचारी पुगेका छैनन् । विसं २०३४ मा छाङरुमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा २०७२ सालसम्म एक जना कार्यालय सहयोगी भए पनि कार्यालय खुल्थ्यो । नेपाली झण्डा कार्यालयमाथि फरफराउथ्यो । त्यसयाता कर्मचारी व्यास आएका छैनन् । कार्यालयका केही कागजात र कुर्सी टेबुल छन् । हरेक वर्ष घरभाडाको सम्झौतासमेत हुने गरेको छ ।

“वर्षौदेखि घर भाडामा दिएको छु”, घरधनी जीवन बोहराले भने, “कागजात र कुर्सी टेबुलभित्रै छन्, सकेसम्म कर्मचारीको उपस्थिती भए अहिलेको परिस्थितिमा राम्रै हुन्छ, सरकारले आफ्ना मातहतका कार्यालय व्यासमा पुर्याउन सके यो क्षेत्रमा नेपाल सरकारले चासो दिएको पनि देखिन्छ ।” व्यासवासीले सो क्षेत्रमा सीमा प्रशासन आउनुपर्ने माग गरे पनि जिल्लाबाट आएका छैनन् । प्रशासनिक कार्यालय नहुँदा स्थानीयवासीले सेवा लिन खलङ्गा आउनुपर्ने बाध्यता छ ।

Advertisement

अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन बुझाउँदै व्यासको छाङ्गरुमा रहेको सीमा प्रशासन कार्यालय सञ्चालन गर्न मागसमेत गरेको छ । पछिल्लो समय सरकारले व्यासमा सुरक्षाको उपस्थिति बढाउँदै लगेका बेला प्रशासनिक निकायको पनि उपस्थिति हुनुपर्ने अखिलको माग छ ।

व्यास क्षेत्रका बासिन्दा खलङ्गा क्षेत्रमा पनि बसोवास गर्ने भएकाले छाङरुको सीमा प्रशासनको कामकाज हाल जिल्ला प्रशासन कार्यालयबाटै हुँदै आएकोे सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए। “व्यासका स्थानीयवासी केही छाङ्गरु तिङ्कर र केही खलङ्गा सदरमुकाममै बस्छन्”, उनले भने, “दुवैतिर सेवा दिन कर्मचारी खटाउन सकिने अवस्था छैन् ।” छाङ्गरुमै गएर सेवा दिँदा खलङ्गाका स्थानीयवासीले पनि छाङ्गरु पुगेर सेवा लिन कठिन हुने भएपछि यहीँबाट सेवा प्रवाह भइरहेको छ, छ जनाको दरबन्दी रहेको सीमा प्रशासनमा हाल तीन जना मात्रै कर्मचारी कार्यरत छन् ।”

Advertisement

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल सो क्षेत्रमा सीमा प्रशासनको उपस्थिति गराउन गृह मन्त्रालयलाई पत्राचार गरिएको बताउँछन् । “हामीले २०७२ सालयता कर्मचारी किन जान सकेनन्, कर्मचारी दरबन्दी कहाँ छन्, पहिले भइरहेको काम र अहिलेको अवस्थाबारे सबै लेखापढी भएको छ”, उनले भने, “अब त्यो क्षेत्रमा सीमा प्रशासन बस्नुपर्छ ।”रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top