१९ साउन, विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
विराटनगर ५ निवासी मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीन सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।
विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ट्राभल हिस्ट्री खुलेको छैन । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिदैछ ।
मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो ।
अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताएका छन् ।
आचार्य नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी भएका थिए ।
बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।
आचार्यको ट्राभल हिस्ट्री पत्ता नलागेका कारण समुदायस्तरमा कोरोना संक्रमणको स्पष्ट संकेत देखिएको छ । र, यो घटनाले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।