३२ साउन, एजेन्सी । युरोपेली मुलुक बेलारुसमा सरकारविरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रदर्शन रोक्न रुसले सहयोग गर्न चाहेको जानकारी दिएका हुन् ।
प्रदर्शनको क्रममा मारिएका एक जना प्रदर्शनकारीको श्रदाञ्जलीका लागि राजधानी मिन्स्कमा हजारौं सर्वसाधारण भेला भएको समयमा आएको उक्त खबरलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
राष्ट्रपति लुकाशेन्को रुससँग निकट छन् । आफुलाई अपदस्थ गर्न पश्चिमाहरुले प्रदर्शन उक्साईरहेको उनको आरोप छ ।
सन् १९९४ देखि सत्तामा रहँदै आउनुभएका लुकाशेन्कोले गत अगस्ट ९ मा भएको चुनावमा ८० दशमलब १ प्रतिशत मत पाएको बताएको छ ।
यसैबिच प्रदर्शनकारीहरुले निष्पक्ष कभरेजको माग गर्दै सरकारी टेलिभिजन बाहिर प्रदर्शन गरेका छन् । सरकारी टेलिभिजन आफुहरुप्रति पूर्वाग्रही बनेको प्रदर्शनकारीहरुको आरोप छ ।
सुरुमा सरकारी टेलिभिजनले प्रदर्शन सम्बन्धी खबर प्रशारण नगर्ने निर्णय गरेको थियो ।
त्यसपछि प्रदर्शनकारीलाई दोष लगाउने गरी केही कभरेज गरेपछि सर्वसाधारणले टिभि स्टेशन बाहिर प्रदर्शन गरेका हुन् ।
