१५ भाद्र, चितवन ।
सोमबार बिहान भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल टिमका कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार अस्पतालमा सोमबार बिहान सात बजेर २० मिनेट जाँदा भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको निधन भएको हो । अस्पतालले निकालेको सूचनामा ती व्यक्तिमा भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई भदौ ६ गते अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको अस्पतालले उल्लेख गरेको छ ।
शुक्रबारयता चितवनमा दिनहुँ संक्रमितको मृत्यु हुन थालेको छ । शुक्रबार एकैदिन तीन जना, शनिबार दुई जना, आइतबार र आज सोमबार एक एकजना गरी पछिल्लो चार दिनमा सात जनाको मृत्यु भएको छ । योसहित चितवनमा निधन हुने संक्रमितको संख्या १३ पुगेको छ ।
उपचारको क्रममा चितवनमा अहिलेसम्म १३ जना संक्रमितको ज्यान गए पनि चितवनका मात्रै योसहित ६ जना छन् । अरु चितवनबाहिर घर भई उपचारका लागि भरतपुर आएका व्यक्तिहरु हुन् । चितवनमा भदौअघि दुई जनाको मृत्यु भएको थियो ।